
मकवानपुरको मनहरी गाउँपालिका वडा ६ मा नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा भएको समापन बारिष्टा र कम्प्युटर तालिम समापन गरिएको छ । मनहरी गाउँपालिका–६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा र १५ दिने कम्प्युटर तालिम २३ माघमा समापन भएको हो ।
कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिको प्रमुख आतिथ्यमा भएको हो । सो क्रममा बोल्दै अध्यक्ष कालाखेतिले गाउँपालिकाले समूह बनाएर आउनेलाई विभिन्न प्रकारका तालिम र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको उनले बताए । तालिमले व्यक्तिगत फाइदा पनि दिने भन्दै आफ्नै घरमा कफी तयार गरेर खानुका साथै व्यवसाय सञ्चालन गर्ने अवसरसमेत उपलब्ध गराउने हुनाले नयाँ काम सुरु गर्न हौँसला प्रकट गरे । कम्प्युटर र प्रविधि आधुनिक जीवनको अभिन्न अंग भएको बताउँदै कम्प्युटर तालिम आजको युगको आवश्यकता भएको उनले बताए । यसले व्यक्तिलाई व्यावसायिक रूपमा दक्ष बनाउनुको साथै व्यक्तिगत जीवनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।
त्यस्तै, सो क्रममा मनहरी–६, का वडाध्यक्ष युवराज थपलियाले तालिमका लागि युवा–यूवती धेरैले फारम भरेको भएपनि छनोट प्रक्रियाबाट थोरै मात्रै व्यक्तिहरुलाई सहभागी गराई तालिम संचालन गरेको बताए । उनले महिलाहरूलाई स्वरोजगारमूलक र उद्यमशीलतासँग जोड्न यस्तो तालिम आवश्यक रहेकोले संचालन गरेको बताए । यस्तै, सो क्रममा बोल्दै सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पार्वती मोक्तानले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्न सहभागीहरूलाई प्रेरित गरे । उनले वडा कार्यालयसँग सहकार्य गर्दै काम गर्ने अवसर पाएको उल्लेख गर्दै अब महिलाहरूले नयाँ काम गर्दै समाजमा स्थापित हुनुपर्ने समय आएको बताए ।
बारिष्टा तालिम मेघा इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका शिक्षक सुवास न्यौपानेले दिएका थिए । तालिममा ६० जना महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यस्तै, गुडविल कम्प्युटरका प्रशिक्षकद्वय सुभाष लामा ‘सजल’ र देवेन्द्र दुलालले तालिमको सहजीकरण गरेका थिए । उक्त तालिममा २४ जनाले सहभागिता जनाएका थिए । दुबै तालिम समापन कार्यक्रममा प्रमुख अतिथि कालाखेतिले तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रशिक्षकहरु त्था आर्थिक सहयोगीदाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्