मकवानपुरको दामनमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल ऋषेश्वर मन्दिरमा बौद्ध धर्मगुरु गुरु रिन्पोछेको मूर्ति अनावरण गरिएको छ । एक विशेष समारोहकाबीच २६ जेठमा मूतिृको अनावरण गरिएको हो ।

पद्मवर्ण महायान बिहार गुम्बा, ललितपुर, वडा नम्बर ६, ज्याठावहा, ओकुवहालबाट प्राप्त गुरु रिन्पोछेको मूर्ति बागमती प्रदेश सभा सदस्य कुमारी मुक्तानले अनावरण गरेकी हुन् । आस्थाको केन्द्र ऋष्ोश्वरमा मूर्तिको अनावरण गर्दै प्रदेश सभा सदस्य मोक्तानले मूर्ति स्थापनाले धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणलाई थप बल मिलेको बताइन् । उनले मूर्ति स्थापनाले हिन्दु–बौद्ध सहिष्णुता र साझा आस्थाको सन्देश फैलाएको विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले ऋषेश्वर क्षेत्रको विकासमा सहयोग गर्न आफुले प्रदेश सरकार समक्ष पहल गर्ने उल्लेख गरिन् ।

मुर्ति प्राण प्रतिष्ठा समारोहमा महायान बिहारका श्रद्धालुहरू, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद कुमार लामा, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, तथा समिति सदस्यहरू निरोज प्रधान, शम्भु सिंह कार्कीलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा पूजासहित पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठा सहित वाङ आयुबाट अभिषेक पूजा कार्यक्रमसमेत भएको थियो।

सिमभन्ज्याङ र दामनको बीच भागमा पर्ने ऋषेश्वर मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको श्रद्धा केन्द्रका रूपमा चिनिन्छ । यो स्थान बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिन्पोछे) सँग गाँसिएको ऐतिहासिक मान्यताले धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व राख्दछ । ध्यान केन्द्रका रूपमा समेत चर्चित यस मन्दिरमा तत्कालीन राजा त्रिभुवनले पूजा गरी सन्तानको वर मागेको र त्यसपछि राजा महेन्द्रको जन्म भएको भन्ने किंवदन्ती प्रचलित छ। मन्दिर समुद्र सतहदेखि करिब २,५८४ मिटर उचाइमा रहेको छ । यहाँ त्रिभुवन राजपथ हुँदै सहजै पुग्न सकिने स्थानमा पर्छ ।

पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गरेका थिए । त्यसैगरी उनले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गरेको, दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तेमाल (यारी नाग) संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गरेको भोट वाङ्मयमा उल्लेख छ । उनले भविष्यमा बौद्ध धर्म रक्षा होस् भनी पहाडको गुफाहरूमा कयौँ निधिहरू सञ्चय गरेर राखेकोे कुरा उनको जीवनी पद्म काथाङ नामक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

पालिका प्रेस
थप जानकारी