थाहा नगरपालिकामा रहेका सामुदायिक वनमा देखिएका समस्या र तिनको समाधानका उपायहरूबारे वृहद् छलफल भएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ थाहाको आयोजनामा २७ जेठमा ‘सामुदायिक वन सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ भएको हो।

थाना बजारस्थित गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट करिब ९० जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठले गर्नुभयो भने प्रमुख आतिथ्यता थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको रहेको थियो।

कार्यक्रममा बोल्दै थाहा नगरपालिका बन तथा वातावरण समितिका संयोजक हिरेन्द्र कुमार रायमाझीले सामुदायिक वन संरक्षण र पानीका मुहान संरक्षणमा नगरपालिकाले गर्दै आएको प्रयासबारे जानकारी दिए । उनले संघीय र प्रदेश सरकारका वन सम्बन्धी ऐनहरूमा एकरूपता नहुनुका कारण स्थानीय तहलाई नीति कार्यान्वयनमा समस्या भइरहेको स्पष्ट पारे । डिभिजन बन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापाले सामुदायिक वन संरक्षण सबैको साझा दायित्व भएको भन्दै, जनप्रतिनिधि, उपभोक्ता समिति, र सरकारी निकायबीच सहकार्यको खाँचो औंल्याए । उनले सहभागीहरूको जिज्ञासाहरूको जवाफसमेत दिएका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका जिल्ला अध्यक्ष सादुराम चौलागाईं, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, सब डिभिजन बन कार्यालय पालुङका बन अधिकृत सागर प्रसाद जैसी, डिभिजन बन कार्यालय राप्तीका बन अधिकृत कमल कान्त खरेल, बन अधिकृत दामोदर पाण्डे, जिल्ला बन महासंघका सदस्य शम्भु प्रसाद न्यौपाने, शिवराम थापा, लगायत सामुदायिक वनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वन व्यवस्थापन, सामुदायिक वनमा देखापरेका समस्या, पर्यटन प्रवद्र्धनका सम्भावना, तथा वनसम्बन्धी नीति र कानुनी विषयमा विस्तृत छलफल गरिएको थियो। सामुदायिक वन उपभोक्ताहरूको सक्रिय सहभागिता र सरोकारवाला निकायहरूको उपस्थितिले कार्यक्रमलाई फलदायी बनाएको भन्दै आयोजक महासंघका सचिव भवानी प्रधानले अभिमुखिकरण कार्यक्रमले सामुदायिक वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

पालिका प्रेस
थप जानकारी