चेपाङ समुदायको सांस्कृतिक महान पर्व छोनम न्वागी (न्वागी) को अवसरमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि ३ दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत बिदा घोषणा गर्दै पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरिएको छ ।

राक्सिराङ्ग गाउँपालिकाले विगतका वर्षहरूमा समेत प्राथमिकताका साथ न्वागी पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ । यस गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पर्व मनाउने परम्परा छ । पर्वका अवसरमा घैयाँ धानको चामल, पिँडालु, निबुवा लगायत फलफूलले भूमिलाई पूजा गर्ने, पितृलाई चढाउने परम्परा रहिआएको छ । नयाँ अन्न पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वास चेपाङ समुदायमा रहिआएको छ । त्यसैका लागि झाक्री (पाण्दे)हरूले ढ्याङ्ग्रो ठटाउँदै कुखुराको बली दिने परम्परा छ । यस दिनलाई चेपाङहरूले ‘वारना’को रूपमा मनाउने गर्छन् ।

सो अवसरमा छरछिमेकी र नातागोता निम्त्याई सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा रहेको छ । चेपाङको न्वागी पर्वको अवसरमा बागमती प्रदेश सरकारले पनि भदौ २२ गते सार्वजनिक बिदा दिने गरेको छ ।

पालिका प्रेस
थप जानकारी