साँकेतिक फाेटाे

काभ्रेको मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नम्बर ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नम्बर ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एचपी पेट्रोल मिनिटिलिर तथा मकै रोप्ने उपकरण र वडा नम्बर ८ स्थित विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एचपी पेट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले बताए ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख डम्बर अर्यालले उन्नत बाली लगाउन आग्रह गरे । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउन विभिन्न कृषि औजार वितरण गरिएको जानकारी दिए । किसानका समस्या समाधान गर्न नगरपालिका तयार रहेको उनले बताए । कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानको समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको शाखाप्रमुख आचार्यले बताए । नगरपालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री किसानलाई वितरण गर्दै आएको छ ।

९ एचपी पेट्रोल मिनिटिलिर प्रतिथान ६० हजारका दरले ९ लाख ६० हजार र ७ एचपी प्रतिथान ५० हजारका दरले १० लाख ५० हजारसहित २० लाख १० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि शाखाका प्राविधिक रामगोपाल श्रेष्ठले जानकारी दिए । कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने मेलम्ची वडा नम्बर ८ का किसान सम्झना गिरीले बताए ।

पालिका प्रेस
थप जानकारी