थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा १४ मंसिरबाट शुरु हुने चौथो थाहा महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामाग्री निर्माणको काम अहिले धमाधम भैरहेको छ । महोत्सवको विषयमा ५ मंसिरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको मूल आयोजक समितिको छलफल कार्यक्रममा यस्तो बताइएको हो ।

कोभिड कालमा नियमितता दिन नसकेको महोत्सव थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सहआयोजनामा यही मंसिर १४ गतेदेखी २६ गतेसम्म १० दिनसम्म सञ्चालन हुन लागेको हो । महोत्सवमा कृषि उपज, घरेलु हस्तकला, स्थानीय उत्पादन, कुलेखानीको माछा, नेवारी परिकार बिक्री तथा प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्री लगायतका सामाग्री राखिने महोत्सव आयोजक मुल समिती संयोजक पुरुषोत्तम ढकालले बताए ।

महोत्सवमा रोटे पिङ, बाल उद्यानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने मुल आयोजक समितिका थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए । उनका अनुसार अहिले यी कामहरु भैरहेका छन् ।

त्यस्तै स्टलहरुका काम पनि धमाधम भैरहेको उनले बताए । अहिले धेरैजसो स्टलहरु बुकिङ भैरहेको र बुकिङ गर्न इच्छुकले छिटो सम्पर्क गर्न उनले आग्रह गरेका छन् । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ । ५ मंसिरमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहानगर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुलगायत मूल आयोजक समितिका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी