मकवानपुरको थाहा नगरपालिका–६ स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीयको सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो । प्रख्यात वज्रवाराही मन्दिर (अजिमा) देखि पुरानो वाराही थान जान ८०५ वटा खुट्किलो सहितको सिँढी निर्माण गरिने जनाइएको छ ।

पर्यटकीय मार्ग निर्माणको शिलान्यास गर्दै थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाबाट सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । उनले मार्ग अन्तर्गत बन्ने ८०५ खुट्किलो सहितको सिँढी निर्माण गर्न ‘एक घर, एक सिँढी’को अवधारणासहित अभियान सुरु गरिएको बताए । उनका अनुसार सांस्कृतिकएवं धार्मिक सम्पदाको सरसफाइ एवं संरक्षणको अभियान स्थानीयको सहभागितामा सञ्चालन गरिदै आएको छ ।

मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचना बनाउने तयारी वडा कार्यालयको अगुवाइमा थालिएको हो। डिपिआर अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही वनको टुप्पो मा अवस्थित पुरानो वाराही थानसम्म पुग्ने सिँढी निर्माणपछि मूर्ति प्रतिसथापन गर्ने योजना रहेको छ । मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्नेसिँढी निर्माणका लागि करिब दुई करोड रुपियाँ बराबरको लागत अनुमान गरिएको छ।

सिँढी निर्माण र मार्गमा आठ हजार ४५० वर्गफिट भुइँ निर्माण कार्य प्रदेश सरकारको आठ लाख रुपियाँको लागतमा सुरु गरिएकोछ । वाराही पर्यटकीय मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिगोपाल श्रेष्ठका अनुसार एउटा खुट्किलोको निर्माण सामग्री, ढुवानी खर्च, ज्यालालगायत गरी छ हजार रुपियाँ पर्ने अनुमान गरिएको छ । वज्रवाराही वनको फेदीमा रहेको वज्रवाराही मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा रहेको र गुडेर आएर अहिले को अवस्थामा रहेको किंवदन्ती छ ।

मन्दिरमा हरेक तीन वर्षमा वैशाख चण्डीपूर्णिमामा जात्रा लाग्ने गरेको छ । सिँढी निर्माणसँगै वाराही थान रहेको वनको टुप्पोमा बज्रवाराहीको मूर्ति राख्ने योजना रहेको स्थानीय प्रमोदकृष्ण जोशीले बताए । यसअघि वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिर परिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालय, नेवा पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगमा करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी