बागमती प्रदेशभित्रमा फागुन १६ गतेदेखि पिपीआर खोप अभियान सुरु गरिने भएको छ । हेटौंडामा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा १६ गतेदेखि पिपीआर खोप लगाउने अभियान गरिने जनाइएको हो । मन्त्रालयका सहसचिव डा. सम्झनाकुमारी काफ्लेको अध्यक्षतामा भएका छलफल कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठ, प्रदेश भित्रका पशुसेवा कार्यालयका प्रमुख, प्रचिनिधिमूलक स्थानीय तहका पशुशाखा प्रमुख, वडाका पशुप्राविधिकलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पशुपंक्षी सम्बन्धी ऐन नियम, निर्देशिका, कार्यविधि आदिको कार्यान्वयन र तर्जुमा, आव ८०÷०८१ को पशुस्वास्थ्यसम्बन्धी कार्यक्रमहरु, पशुस्वास्थ्य सूचना प्रणाली, भोगिएका समस्या र भावी योजनाबारे तीन तहकै पशु स्वास्थ्यकर्मीले बृहत छलफल गरेका थिए । पशुपालक किसानले सहजरुपमा खोप अभियानमा साथ दिइरहेको पशु प्राविधिकले जनाएका छन् । विगतमा केही किसान खोपप्रति डरभाव देखाउने गरेका किसान अहिले अभियानमा उत्साहका साथ सहभागिता जनाउने गरेको पाइएको प्राविधिकहरुले बताएका थिए ।

कार्यविधि आवश्यक छ, स्थानीय तहमा कार्यविधि नहुँदा सेवा प्रदान गर्न असहज भइरहेको उनीहरु बताउँछन् । पिपीआर मात्र नभई, खोरेत, रेविज, लम्की स्कीन, वर्डफ्लु, स्वाईनफ्लु लगायत अन्य खोप कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको सहभागीले जनाएका थिए । प्रदेशका सिन्धुली, रामेछाप र दोलखामा भने नाईट्रोजनको समस्या रहेको जिल्लाका कार्यालय प्रमुखले गुनासो व्यक्त गरेका थिए । खोप अभियानलाई सार्थकता बनाउन र सहज ढंगले अभियानलाई सफल बनाउन सम्बन्धित पशुसेवा कार्यालयलाई प्रदेश मन्त्रालयका सचिव कोइरालाले निर्देशन दिएका छन् ।

पालिका प्रेस
थप जानकारी