मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक नमुनाको रुपमा गरिएको सूर्यमुखीको खेती सफल भएको छ । गाउँपालिकामै पहिलो पटक व्यवसायिक रुपमा कृषक गोकर्ण पारजुलीले गरेको खेतीमा सफलता मिलेको मकवानपुगढी गाउँपालिकाका कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । सूर्यमुखी खेती सफल भएपछि कृषक पराजुली अहिले खुशी छन् ।

कृषक पराजुलीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ धमिलेफाँटमा ४ कठ्ठा जग्गामा कृषि प्राविधिक चौधरीको प्राविधिक सहयोगमा सूर्यमुखी खेती गरेका हुन् । पराजुली भन्छन्–‘नमुनाको रुपमा लगाइएको खतीमा सफल भएँ, अर्कोवर्ष फाँटै भरी सूर्यमुखी देख्न पाउनुहुन्छ ।’ बाबियो डाँडाका कृषक पराजुलीले लगाएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । फाँटमा पहेँलपुर फुलेको खेती हेर्न पत्रकार र किसानहरुको धुइरो लाग्ने गरेको छ ।

उनी भन्छन्–‘खेतीसंगै पर्यटक पनि भित्र्याउन सूर्यमुखीले सहयोग गर्ने रहेछ, फूल अवलोकनकर्ताले भाँच्न समेत थालेपछि खेतमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति ५० रुपियाँ शुल्क तोकेको छु ।’ आफ्नो कृषि फर्ममा काम गर्नेहरुप्रति इङ्कित गर्दै पराजुली भन्छन्–‘यिनीहरु नै हुन् स्याहारसुसार गर्ने, रमाइलोको लागि खेतमा आउनेहरुले ५० रुपियाँ त्यही बहिनहिरुलाई दिनू भनेको छु।’

रोपेको १ सय २० दिनमा फसल दिने हाइब्रिड सूर्यमूखी प्रतिकठ्ठा एक क्विन्टल फल लाग्ने अनुमान गरिएको छ । सुर्यमुखीको दाना प्रति क्विन्टलको २० हजार रुपियाँमा बजारमा बिक्री हुने गरेको छ । हावापानी र माटोको हिसाबले सूर्यमुखीलाई मिल्दो वातावरण भएकाले उत्पादन राम्रो भए व्यावसायिक खेती गर्न कृषकलाई प्रेरित गरिने कृषि विकास अधिकृत चौधरीको भनाइ छ ।

यो बालीको बीउमा ४५ देखि ५० प्रतिशतसम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल निकालेपछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । सूर्यमुखी नगदे बालीको रुपमा प्रचलित छ । यसको तेल हल्का पहेंलो, वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै बिक्री भईरहेको छ ।

उम्रने र बेर्ना हुर्कने समयमा चिसोपन चाहिए पनि त्यसपछि फुल फुल्ने र पाक्ने समयमा यसलाई गर्मी हावापानी नै चाहिन्छ । राम्रो खेतीका लागि तापक्रम २० देखि ३५ डिग्री सेन्टिग्रेड हुनु पर्दछ ।

हेर्नुहोस फोटोफिचर:

गणेश विष्ट
थप जानकारी