मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण आर्यालले बाह्रैमास फल्ने कागती खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । कृषि फार्म सञ्चालन गरी उहाँले कागती, ड्र्यागन र कुरिलोको खेती गरिरहनुभएको छ । उहाँले विषादी, रासायनिक मल र कुनै पनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेको बताउनुभयो ।

उहाँले २०७६ सालदेखि ब्रह्मकाली निम्न माध्यमिक विद्यालयसँग १५ वर्षका लागि दुई बिघा जग्गा भाडामा लिएर साढे छ सय कागती, कुरिलो र एक बिघा क्षेत्रफलमा दुई हजार ड्र्यागन खेती गरिरहनुभएको छ । कागतीको बिचमा पोल गाडेर ड्र्यागन खेती गरिएको छ । २०६७ सालदेखि आफ्नै आठ कट्ठा जग्गामा चार वटा सेड बनाएर उहाँले कुखुरापालन पनि गर्दै आउनुभएको छ । चार वर्षअघि लगाइएका कागतीले दुई वर्षपछि उत्पादन दिन सुरु गरेको भन्दै उहाँले यसमा हुने करिब डेढ लाख खर्च कटाएर वार्षिक रूपमा छ लाख रुपियाँ आम्दानी गर्दै आएको बताउनुभयो । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उहाँको दाबी छ ।

“हाम्रो जग्गा धेरै बाँझो छन्, हामी विदेश गएर पसिना बगाइरहँदा पनि त्यो जग्गाले हामीलाई सराप्छ,” किसान अर्यालले भन्नुभयो । कृषक अर्यालले उत्पादन गरेको कागती चितवन र हेटौँडा बजारमा खपत हुने गरेको छ । कागती प्रतिकेजी ४० रुपियाँदेखि १८० रुपियाँसम्म थोक मूल्यमा बिक्री हुने गरेको छ । आर्याल राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ ।  गोर्खापत्रबाट ।

पालिका प्रेस
थप जानकारी