हेटौंडाका विद्यार्थी युवाले दीगो भविष्यका लागि प्लाष्टिकरहित पृथ्वीको परिकल्पनासहित बोतलसँग विरुवा साट्ने अभियान चलाइरहेका छन् । वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा अध्यनरत विद्यार्थीले हरित सहरको परिकल्पना र सफा, स्वच्छ सहरीकरणमार्फत दिगो भविष्य स्थापनाका लागि भन्दै प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने अभियान थालेका हुन् ।

क्रियसन नेपाल नामक संस्थाको आयोजनामा हेटौंडा–४ स्थित हुप्राचौरमा प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने कार्यक्रम भएको थियो । एनवाइसिए हेटौंडा, रोट्याक्ट क्लब अफ हेटौंडा र द क्यान्डिड स्टुडियोको समन्वयमा भएको कार्यक्रममा हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युवाले अघि सारेको प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने अभियानले वातावरण जोगाउन नागरिकमा सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले ८ वटा खाली बोतलसँग एउटा बिरुवा साट्ने अभियान फरकढंगको तर, प्रभावकारी लागेको बताए ।

कार्यक्रममा सहभागी रोट्रयाक्ट क्लब अफ हेटौंडाकी अध्यक्ष सुमित्रा लामाले आफूले जम्मा गरेको बोतलसँग बिरुवा साट्न पाउँदा खुशी व्यक्त गरिन् । उनले प्रयोगविहिन वस्तु लिएर, वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बिरुवा प्रदान गर्ने अभियान उदाहरणीय रहेको बताइन् । भीएफसी युथ हेटौंडाका भोलेन्टिएर अभिशेक चन्द र प्रतिक्षा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा, ज्येष्ठ नागरिक, बालबालिका गरी करिव ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीबाट करिव ५ सय ओटा प्लाष्टिकका बोतलसँग ९० ओटा बिरुवा साटिएको भीयफसी भोलेन्टिएर सृजना सुबेदीले जानकारी दिइन् ।

कार्यक्रमका लागि डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरीबाट बिरुवा उपलब्ध भएको र आगामी दिनमा पनि वातावरण जोगाउन सचेताना फैलाउने खालका कार्यक्रम लिएर आउने आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिए । अभियानअन्तर्गत्को कार्यक्रममा युथ समूहका १० जना पदाधिकारीलगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी