मकवानपुरको हेटौंडा १३ पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट एसईई तथा एसएलसी परीक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयमा अध्यापन गरी एसईई परीक्षा तथा एसएलसी (+२) कक्षा उर्तिण गर्ने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गरेकी हुन् ।

विद्यालयबाट परीक्षामा उत्तिर्ण भएका ३८ विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । परीक्षामा उत्कृष्ट अंक ल्याउँले विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । विद्यार्थीलाई सम्मान गर्दै नगर प्रमुख लामाले शिक्षालाई व्यवहारिक बनाउन जरुरी रहेको बताइन् । उनले शैक्षिक प्रमाणपत्रमा मात्र सिमित रहेको शिक्षालाई प्रविधिमैत्री बनाउँदै अघि बढाउन जरुरी रहेको बताइन् । शैक्षिक सुधारका लागि उपमहानगरले काम गरिरहेको बताउँदै शिक्षासँगै रोजगारीको व्यवस्थापन मिलाउने अवस्था बनाउँन जरुरी रहेको उनले बताइन् । न्यूनतम शिक्षा पूरा भएपछि थप शिक्षाका लागि आफैले रोजगारीको अवस्था बनाउँने वातावरण तयार गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विद्यालयका लागि २ लाख ५ हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्ने चन्द्रबहादुर वाइवालाई दोसल्ला ओडाएर सम्मानित गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्य उत्तम गोम्जा, टोलविकास संस्था वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, पदमपोखरी क्याम्पसका प्रमुख निबन्ध लामा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोबिन थिङ, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । महेन्द्र माबिबाट बिदाइ भएका विद्यार्थीलाई पदमपोखरी क्याम्पसले स्वागत गरेको थियो ।

पालिका प्रेस
थप जानकारी