एउटा नयाँ विषय, ‘फिल्म फेस्टिभल ।’ मेला, जात्रा, उत्सव, महोत्सव आयोजना गर्नुभन्दा नितान्त फरक क्षेत्र । तर पनि फिल्म फेस्टिभलको हुटहुटीले थाहा कला केन्द्रलाई छोड्दै छोडेन । र, दोस्रो संस्करणको ‘थाहा फिल्म फेस्टिभल, २०२५’ सम्पन्न गरेरै छाडे । पहिलो संस्करण मकवानपुर जिल्लाको थाहा नगरपालिकाकै पालुङ, जेसिज हलमा आयोजना गरेको थाहा कला केन्द्रले यसवर्ष ठाउँ फेरेर बज्रवाराहीको सुमार्गी भवनमा आयोजना गरेको थियो ।
थाहा नगरपालिका वडा नम्बर ६ स्थित सुमार्गी भवनमा २८ पुसमा पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए भने १ मागमा फेस्टिभलको थाहा नगरपालिका नगर कार्यपालिकाका उपप्रमुख भरत गोपालीले समापन गरेका हुन् । फिल्मी क्षेत्रमा क्रियाशील थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा विभिन्न २१ फिल्म प्रदर्शन गरिएको थियो ।
फिल्म फेस्टिभलमा ‘यो जिन्दगी खै, के जिन्दगी’ ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’ र ‘मोदिबेनी’, ‘बेलीְ’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैया’ , खिल’, ‘हिउँ चितुवा, ‘गल्र्स रिराइटिङ डेस्टिनी’ लगायतका फिल्ड, सर्ट फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शनी गरिएको थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

फेस्टिभलको अवसरमा ’नेपाली फिल्मको विविधता’ शीर्षकमा निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेले अन्तरक्रिया गरेका थिए । फेस्टिभलको दोस्रो दिनमा ‘किन चाहिन्छ फिल्म समीक्षा ?’ शीर्षकमा समीक्षक प्रसन्न माली, श्रीजु सरल र प्रभाकर गौतमबीच छलफल भएको थियो । सोही क्रममा बिभिन्न स्थानबाट सहभागी फिल्मकर्मी र सञ्चारकर्मीहरुको प्रश्न सहित चुनौती बारे छलफल भएको थियो ।
कार्यक्रमको अवसरमा फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले थाहानगरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउँदै फिल्म छायांकन क्षेत्रको रूपमा विकास गर्नका लागि फेस्टिभल फलदायी हुने प्रतिक्रिया दिए । जोशीले भने–‘ यसखाले फेस्टिभलमा सबैले साथ दिनुपर्छ ।’ थाहानगरभित्र हालसम्म कुनै फिल्म हल सञ्चालनमा नभएसँगै नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्षित गरेर आयोजना गरिएको फेस्टिभलको सबैबाट राम्रो प्रतिक्रिया पाइएको संयोजक जोशीले बताए ।
थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले पर्यटन र चलचित्र उद्योगलाई जोड्न सके थाहामा थप पर्यटकको आकर्षण बढाउन सकिने धाराणा राखे । मोक्तानले फेस्टिभलले नगरलाई थप परिचित बनाउने विश्वास व्यत्तः गरे । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ आयोजित फिल्म फेस्टिभलबाटै थाहानगर र इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्न उन्मुख गराउनु लक्ष्य रहेको प्रष्ट्याए ।

गत वर्ष फिल्म प्रदर्शन गरेर फिल्म लिएर आउने फिल्मकर्मीलाई दामन, फाँटबजार, सिमभञ्याङ लगायत स्थानको भ्रमण गराएपछि म्युजिक भिडियो, फिल्म र टेलिफिल्म छायांकन हुनेको संख्या बढेकोे अध्यक्ष मोक्तनको भनाइ छ । ‘हामीले आयोजना गरेको पहिलो फेस्टिभलले थाहाको प्रचारलाई तीव्र बनाइरहेको छ भन्ने महसुश भएका कारण पनि दोस्रो संसकरणका रुपमा आयोजित फेस्टिभलले थाहालाई अझै थप केही दिने बिश्वास छ’–मोक्तानले भने । फेस्टिभल हुने भनेपछि सफल बनाउन सबैको राम्रै साथ पाएको कारण सम्पन्न भएकोमा खुसीलागेको बताए ।
फेस्टिभल एक व्यक्तिबाट मात्र सफल हुन नसक्ने बताउँदै सबैको साथ सहयोगबाटै सफल भएको उनको प्रतिक्रिया रहेको थियो । अध्यक्ष मोक्तानले भने–‘हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर सहभागी हुने प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथि, राजनैतिक नेतृत्वहरु, चलचित्र निर्माता, निर्देशक तथा कलाकार, सञ्चारकर्मी, शुभेच्छुक, शुभचिन्त सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्