जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ३ खोलीकोटकी उद्यमी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले तामाङलाई सम्मान गरेको हो ।
सोमबार जुम्लामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले उत्कृष्ट उद्यमी तामाङलाई १ लाख पुरस्कार राशि र प्रशंसापत्रसहित सम्मान गरेका हुन् । उद्यमीलाई प्रोत्साहन, उद्यमशीलताको विकास गर्न तथा प्रदेश स्तरका नमुना उद्यमीका रूपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी छनोट गरी सम्मान कार्यक्रम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।
उनका अनुसार नगद पुरस्कार १ लाखमध्ये २५ प्रतिशत कर कट्टी गरेर बाँकी ७५ हजार रुपैयाँ रकम उद्यमी तामाङको खातामा जम्मा भइसकेको छ । पुरस्कारका लागि दरखास्त आह्वान गर्दा जिल्लाभरका ६ जना नमुना उद्यमीको आवेदन परे पनि स्थलगत अनुगमन गर्दा कुन्जाङ झोला तथा राडीपाखी उद्योगले सबै मापदण्ड पूरा गरेको भेटिएपछि उत्कृष्ट उद्यमीका रूपमा तामाङलाई छनोट गरी सम्मान गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले वास्तविक उद्यमीलाई गरेको सम्मानले भर्खर उद्यमशीलतामा अग्रसर उद्यमीलाई थप हौसला प्रदान गर्ने बताए । अनुदान लिन मात्रै उद्योग दर्ता गर्ने प्रवृत्तिले वास्तविक उद्योगी ओझेल परे पनि उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमले बिचौलिया पहिचान गर्ने अवसर जुटेको उनले उल्लेख गरे ।
०६४ बाट उद्योग दर्ता गरी उद्यमशीलतामा अग्रसर भएको झन्डै डेढ दशकपछि पहिलो पटक सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाउँदा खुसी लागेको उद्यमी तामाङले बताइन् । उनले भनिन्, ‘सहुलियत कर्जादेखि वास्तविक उद्यमी किसानले सम्मान पाउने परिपाटी छैन । पहिलो पटक सम्मान पाउँदा खुसी छु । उद्यमशीलता बढाएर रोजगारी बढाउन उद्यमी तथा किसानलाई सरकारले थप प्रोत्साहन व्यवस्था गर्नुुपर्छ ।’
राडीपाखी उद्योगले झन्डै १२ जना महिलालाई रोजगारी दिँदै आएकामा कोरोनाका कारण चीनबाट कच्चा पदार्थ आयात रोकिएपछि उद्योग बन्द रहेको उनले बताइन् । उनले थपिन्, ‘नेपालमा कच्चा पदार्थ पाइँदैन । भारत र चीनबाट ल्याउनुपर्छ । हामी साना उद्योगीको लगानी भन्सारमै सामान ल्याउँदा जान्छ । सहज रूपमा कच्चा पदार्थ ल्याउन पनि सरकारले सहजीकरणका साथै सम्मान र प्रोत्साहनमा जोड दिन आवश्यक छ ।’
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले जुम्लामा उद्यमी सम्मान कार्यक्रम थालनी भएकामा खुसी व्यक्त गरे । ‘जुम्लामा झन्डै ४ हजार बढी उद्यमी भए पनि सम्मान, प्रोत्साहन कतैबाट छैन । तर, पहिलो पटक नगद १ लाखसहित सम्मान गरेपछि उद्यमशीलता विकासमा नयाँ आयाम थपेको छ’, उनले भने ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्