मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा नापी र मालपोत कार्यालय रहको छ । तर यहि वडाको एउटा सिंगो भूगोल आफ्नै वडामा रहेको कार्यालयको सेवाबाट वञ्चित छ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यथार्थ यहि नै हो । थाहा नगरपालिका वडा नम्बर ४ को माथिल्लो भेगहरु ठूलोमाखु, जगरघारी, नारनझ्याउलगायतका क्षेत्रका बासिन्दा वि.सं. २०७३ साल फागुन १९ गते नापी र मालोपोत कार्यालय शिखरकोट स्थापना हुँदा घरछेवैबाट सेवा पाउने आशमा खुशी थिए । कार्यालयको सेवा प्रवाहको क्रममा त्यस भेगका बासिन्दाको खुशी केही दिन पनि टिक्न पाएन । अर्थात् उनीहरुको जग्गाको ढड्डा मालपोत र नापी कार्यालय शिखरकोटमा आएकै रहेनछ ।

नारनझ्याउ गाउँ निवास्ी रुप बहादुर थिङका ३ दाजुभाइ छन् । उनीहरुले गाउँकै भद्र भलाद्मी राखेर बारी भाग लगाइ खनजोत गर्दै आएकाछन् । तर कित्ताकाट गरी अंशवण्डा भएको छैन । थिङ भन्छन्–‘मिलेसम्म गाउँमै भाग लगाउँछौं लालपुर्जा बनाउन त हेटौंडा पुग्नु पर्छ ।’ आफ्नै पालिकामा मालपोत र नापी कार्यालय भएर पनि आफूहरुले दुःख पाइरहेको बताउँदै थिङ थप्छन्–‘गाउँका सबैको समस्या यहि छ ।’

मालपोत कार्यालय शिखरकोटका प्रमुखलाई समस्या समाधानका लागि पहल गरिदिन आवश्यक कागजातसहित अनुरोध पत्र बुझाउँदै ।

रुप बहादुरलाई जस्तै अर्का स्थानीय विष्णुहरी वाइवा पनि गाउँलेको समस्या समाधान गरिदिने कोही नभएको दुःख पोख्छन् । ‘समस्या समाधानका गर्न लागेशक्ति सबैलाई भनिरहेका छौं अहिलेसम्म समस्या ज्यूँका त्यूँ छ, संघ, प्रदेश र स्थानीय कुनै पनि सरकारले हाम्रो दुःख देखेन ।’ भुगोलका हिसाबले थाहा नगरपालिकामा सम्पत्ती कर तिरी रहेको बताउँदै जग्गाको लालपुर्जामा ठेगाना भीमफेदी उल्लेख भएकोले मालपोत कार्यालय शिखरकोटमा ढड्डा नभएको भन्ने थाहा पाएको वाइवाको भनाइ छ । थाहा नगरपालिकाको बासिन्दा भएपछि नगरकै कार्यालयबाट सेवा पाउनुपर्ने स्थानीय चम्फुसिं बलको भनाइ छ । ‘पहिले दामन गाविसको ७ नम्बर वडा हुँदादेखि नै जग्गाको मालपोत दामन गाविसमा बुझाउँदै आयौं, अहिले थाहा नगरपालिकामा जग्गाको कर बुझाउँछौं’– बलले सुनाए । बलका अनुसार उनको बाबुको नागरिकतामा पनि भीमफेदीकै ठेगाना छ । जग्गा अंशबण्डा गर्न थाहा नगरपालिका हैन हेटौंडा जानू पर्छ भन्ने सुनेको उनले बताए । उनी सेवाप्रति दुःखी हुँदै भन्छन्–‘सकिन्छ थाहा नगरबाट सेवा लिन सक्ने हुन पर्यो नत्र बरु हामीलाई भीमफेदीमै गाभिदिए हुन्छ ।’

आफ्नै नगरपालिकाबाट जग्गा जमिन सम्बन्धी सेवा लिन पाउनु पर्ने गाउँकै साझा मुद्दा बनेको फापरबारीका चम्फुसिंले बताए । राजनीतिक दलहरुदेखि जनप्रतिनीधिहरुलाई समेत आफूहरुको दुःख सुनाउँदा कसैले वास्ता नगरेको उनको भनाइ छ । स्थानीय सरकारको दोस्रो कार्यकाल चलिरहँदा जनताको समस्या समाधन गर्नेतिर ध्यान दिनूपर्ने उनको सुझाव रहेको छ । सो क्षेत्रका बासिन्दाहरुको जग्गा धनी पुर्जामा अधिकांशको साविक भीमफेदी ४ उल्लेख भएपनि भीमफेदी ६ उल्लेख भएकाहरु पनि रहेका छन् । साविक भीमफेदी–४ हालको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा पर्दछ । यो क्षेत्र भनेको भीमफेदी गाउँपालिकाको कार्यालय रहेको क्षेत्र भीमफेदी बजार हो ।

नेतृत्वको पहल, जनप्रतिनीधिको समर्थन

लामो समयदेखी भूमि प्रशासनबाट दुःख बेहोरिरहेका थाहा नगरपालिका वडा नम्बर ४ का बासिन्दाको समस्या स्थानीय तहको निर्वाचन पश्चात् पहिलो पटक औपचारिक रुपमा मालपोत र नापी कार्यालयमा पुगेको छ । नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनाद कुमार लामाको नेतृत्वमा ३० जेठमा मालपोत कार्यालय र नापी कार्यालय शिखरकोटका प्रमुखलाई जग्गाधनी पुर्जाको प्रतिलिपी, निवेदन तथा वडा र नगरपालिकाको सिफारिस समेत पेश गरिएको हो ।

नापी कार्यालय शिखरकोटका प्रमुखलाई समस्या समाधानका लागि पहल गरिदिन आवश्यक कागजातसहित अनुरोध पत्र बुझाउँदै ।

संगैको गाउँका नागरिकले थाहानगरमै सेवा पाउने र अर्को छिमेकी हेटौंडा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न यस किसिमको पहल गरिएको अध्यक्ष लामाले बताए । अध्यक्ष लामाले समस्या यथाशक्य छिटो समाधान गरिदिन अनुरोध गरिएको बताए । सो क्रममा वडाध्यक्ष नारायण लामाले नागरिकहरुको समस्या समाधानका लागि नगर क्षेत्रमै रहेको कार्यालयहरुले पनि पहल गरिदिनूपर्ने उल्लेख गरे । अनुरोध तथा सिफारिस पत्र बुझ्दै मालपोत तथा नापी कार्यालय शिखरकोटका कार्यालयका प्रमुखहरुले फाइल तत्काल विभाग पठाइने र समस्या समाधानको निम्ति पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

टोलीमा नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष लामासहित थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा सचिव पाल्साङ लामा, स्थानीय दिनेश केसी, गणेश लामालगायतका व्यक्तिहरु सहभागी थिए ।

समस्या समाधान गर्न सकिन्छः ‘थाहामै छ नजिर’

धादिङ जिल्लामा ठेगाना उल्लेख भएकोे थाहा नगरपालिका भित्र पर्ने साविक गाविसका दुईवटा वडाका नागरिकहरुको जग्गाको ढड्डा थाहामै ल्याइएको ‘नजिर’ रहेको छ । मुलुकमा संघीयता कार्यान्वयनसंगै स्थानीय तह घोषणा पश्चात् वि.सं. २०७२ सालमा साविक टिष्टुङको ६ नम्बर वडा र चित्लाङ–१ को जग्गाको ढड्डा धादिङ जिल्लाबाट मकवानपुरको थाहामामा ल्याइएको हो ।

साँकेतिक फोटो ।

साविक टिष्टुङ–६ को चुलीप्रान, गाउँखेल तथा ओखरगाउँ क्षेत्रको र चित्लाङ–१ को केही गाउँको जग्गाको अभिलेख अर्थात जग्गाधनी पुर्जामा ठेगाना साविक नौबिस–६ उल्लेख रहेको थियो । जग्गाको ढड्डा ल्याउनका लागि थाहा नगरपालिकाबाट प्रशासनिक टिममा सहभागी सव–इन्जििनियर सुकदेव विडारीले भने–‘त्यतिबेला थाहामा मालपोत कार्यालय आइसकेको थिएन हेटौंडाको मालपोत कार्यालयका सरहरुले प्रक्रिया अघि बढाउनुभयो, हामी पालिकाको प्रशासनिक टिम नै गएर अभिलेख ल्यायौं ।’ अहिले ति दुबै साविकका वडाका नागरिकहरुको जग्गाको अभिलेख मालपोत र नापी कार्यालय शिखरकोटमा रहेको छ ।

टिष्टुङ र चित्लाङका दुई वडाका केही गाउँका नागरिकहरुको करिब ५ सय बढि कित्ता जग्गाको अभिलेख ल्याइएको विडारीले बताए । त्यतिबेलाको अनुभव सुनाउँदै विडारी भन्छन्–‘प्रशासनिक काम मालपोतले अघि बढायो, हामीले कार्यालयकै गाडी लग्यौ, अभिलेख ल्यायौ, खर्चिलो पनि भएन जनताले सुविधा पाए ।’

पालिका प्रेस
थप जानकारी