• फोटोहरुः गणेश विष्ट/पालिका प्रेस

विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ । नेपालको इलाम जिल्ला माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा फेला परेको हो । ‘करिब १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययनको क्रममा इलाम बाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा देखियो’–वनस्पती विज्ञ रघुराम पराजुलीले भने । उनी भन्छन्–‘तपाइहरुले पठाउनु भएको फोटो र गर्नुभएको कुराकानीको आधारमा यो दुर्लभ वनस्पती चिमाल नै हो, अझ म फिल्डमै आएको बेला हेरेर थप जानकारी दिन सक्ने भएँ ।’ नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ४ को महांकाल सामुदायिक वन क्षेत्रमा भेटिएको उक्त चिमालको रुखको संख्या निकै कम रहेको छ । केही वर्ष अघिबाट मात्र आफूले उक्त चिमाल अर्थात गुराँस फुलीरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष बिनोद लामाले जानकारी दिए । अध्यक्ष लामाको अनुरोधमा स्थानीय पत्रकार तथा फोटो पत्रकारहरु उक्त गुराँस अवलोकन गर्न सामुदायिक वन क्षेत्रमा पुगेका थिए ।

अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँस समेत भनिने गरिएको छ । पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनहरुले देखाएको छ । उक्त क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातीको गुराँस एक एपिफाइट हो, सामान्यतया रूख, चट्टान र ढुङ्गाहरूमा पाइन्छ । हिमालयको तल्लो भागहरूमा ५ हजारदेखि ९ हजार फीटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सिमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेखहरु भेटिएको छ ।

वयस्क बिरुवाहरूमा, पातहरू ३ देखि ८ इन्च लम्बाइ र ३ इन्च चौडा हुन्छन् । फूलहरूको रङ सेतो देखि क्रिम, फिक्का पहेँलो, वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ। फूलहरूमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको वास्नाले मात लाग्ने इलामका स्थानीयहरुले भन्ने गरेको अनुभव विज्ञ पराजुलीले सुनाए । चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रंगीन फुल्ने गरेको सुनेको भएपनि दामन क्षेत्रमा अन्य गुराँस फुलीसकेपछि अन्तिममा यो फुल्ने गरेको अध्यक्ष लामा बताउँछन् । ‘ केही वर्षदेखि मैले ख्याल गरिरहेको छु, स्थानीयहरुलाई यसबारेमा पत्तै नभएको लामाको भनाइ छ ।

सीमित संख्यामा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । चिमालको कटिङबाट पनि विरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयहरुले औषधिको रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । गुराँस पूर्वी पहाडी क्षेत्रमा बढि पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालमा ३२ थरीका गुराँस पाइन्छन्। नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फुल्ने गरेको एक अध्ययनले देखाएको छ।

 

 

सुरजकुमार भुजेल
surajkhabar@gmail.com
थप जानकारी