मकवानपुरको बकैया गाउँपालिकाले साइलेज तथा दाना उत्पादन सुरु गरेको छ । बकैया–७ हात्तीखोलामा उद्योग स्थापना गरी साइलेज तथा दाना उत्पादन सुरु गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । सहुलियत दरमा कृषकलाई पशुआहारा उपलब्ध गराउने उद्देश्यले साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार राष्ट्रिय योगना आयोगको ५० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको उद्योगमा पालिकाले करिब ५ करोड रुपैयाँ खर्चिएको हो । साथै उद्योगमा बागमती प्रदेश सर कारबाट पनि उपकरण र केही आर्थिक सहयोग प्राप्त भएको उनको भनाई छ ।

सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले पशुपालक किसानको समस्यालाई बुझेर उद्योग संचालनमा ल्याइएको अध्यक्ष लामिछानेले बताए । पालिकाका कृषिअधिकृत सचित रिजालका अनुसार किसानलाई पीठो तथा चोकरको मूल्य महँगो पर्ने र साइलेजमा उत्पादन लागत कम पर्ने भएकाले उत्पादन थालिएको हो ।

पहिलो चरणमा पालिका भित्रका कृषकलाई पुग्ने गरी साइलेज तथा दाना उत्पादन गरिने भन्दै उनले विस्तारै अन्य पालिकामा समेत निर्यात गर्ने गरी उत्पादन बढाउने तयारी रहेको जानकारी दिए । उद्योग सञ्चालनमा आएसँगै प्रत्यक्ष रुपमा ३० जनाले रोजगारी प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी