मकवानपुरको मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ११ महिनाको अवधिमा सम्पन्न गरेका मुख्य–मुख्य कामहरु सार्वजनिक गरेको छ । ३२ जेठमा गाउँपालिका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै चालु वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायत क्षेत्रमा गरेका मुख्य कामबारे जानकारी गराइएको हो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतको उपस्थितिमा कार्यप्रगती विवरण प्रस्तुत गरिएको हो ।

यो अवधिमा गाउँपालिकाले पूर्वाधारतर्फ करिब ५ किलोमिटर स्ल्याब ढलान, ६ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३ किलोमिटर रिटेनीङ वाल निर्माण गरेको छ भने १ किलोमिटर नाला निर्माण र २४ किलोमिटर भन्दा बढी खानेपानीको पाइप विस्तार गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए । पालिकाले आन्तरिक स्रोतबाट गत आर्थिक वर्ष २०७७÷७८ मा साविक हाँडीखोला गाविसको १, २, ३ र ४ नं वडामा निर्माण थालनी गरेको ५ वटा पक्की पुलमध्ये ३ वटा सम्पन्न गरेको छ । ट्वाङ्रग्रा खोला पुल, मसिने पक्की पुल र च्यापल पक्की पुल निर्माण भई केही दिनअघि उद्घाटन गरिएको थियो । बाँकी २ वटामध्ये हाँडीखोला पक्की पुल ६६ प्रतिशत र ठाडेखोला पक्की पुलको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए । आंशिक अपाड्डता (पहेँलो कार्ड) भएकालाईसमेत गाउँपालिकाले आन्तरिक श्रोतबाट निर्वाहभत्ता उपलब्ध गराउन थालेको छ । यसलाई गाउँपालिकाले महत्वपूर्ण कामको रुपमा औंल्याएको छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले निर्वाचित भएर आएदेखि नै आफूले प्राप्त गर्ने सेवा सुविधाको रकम र भत्ताबाट असहाय र विपन्न वर्गलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको बताएका छन् । अध्यक्ष कालाखेतीले आफ्नो कार्यकालभर ९ वटा वडामा ९ जना घरवार बिहिन विपन्न परिवारलाई घर बनाइदिने अभियान यस वर्षबाट सुरु गरेको जानकारी दिए । चालु वर्षमा मनहरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको प्रक्रिया थाल्ने क्रममा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बनको ० दशमलव २ हेक्टर क्षेत्रफलको जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ ।

आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरी ठेक्का प्रक्रिया अघि बढ्ने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले स्थानीयको आवश्यकताको आधारमा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । बजेट निर्माणपूर्व आफूहरुले विभिन्न चरणमा सबै क्षेत्रका विज्ञको सुझाव संकलन गरिरहेको उनले सुनाए । गाउँपालिका उपाध्यक्ष मगरले गाउँमा एक घर एक उद्यमी बनाउने उद्देश्यले कार्यक्रमहरु कार्यान्वयन भइरहेको बताइन् । स्थानीयको आवश्यकता र मागअनुसार विभिन्न उद्यम गर्नको लागि आवश्यक तालिम प्रदान गर्नुका साथै उनीहरुलाई उद्यमी बन्नको लागि प्रोत्साहन दिइएको पुलामीको भनाई छ ।

पालिका प्रेस
थप जानकारी